रौतहट । रौतहटका राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरविरुद्ध विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको कार्यकाल, सम्पत्ति तथा आयस्रोतबारे समेत स्थानीय तहमा चर्चा सुरु भएको छ।
ठाकुर २०५५ सालमा तत्कालीन पिपरा पोखरिया गाविसमा प्राविधिक सहायकका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए। त्यसपछि जिल्ला विकास समिति रौतहट हुँदै प्रशासनिक जिम्मेवारीमा पुगेका उनी पछि जिल्ला समन्वय समिति र राजपुर नगरपालिकामा समेत कार्यरत रहे।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक सरुवा गरे पनि उनी लामो समय राजपुर नगरपालिकामै कार्यरत रहेको बताइन्छ।
अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै ठाकुरको सम्पत्तिको स्रोतबारे पनि स्थानीय स्तरमा चासो बढेको छ। गौर–५ मा रहेको उनको घर तथा अन्य स्थानमा रहेको भनिएका जग्गा–जमिनको स्रोतबारे सम्बन्धित निकायले आवश्यक अनुसन्धान गर्नुपर्ने माग स्थानीयले उठाएका छन्।
यद्यपि, ठाकुरको सम्पत्तिसम्बन्धी विषयमा हालसम्म कुनै निकायले अवैध सम्पत्ति आर्जन गरेको निष्कर्ष सार्वजनिक गरेको छैन भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कुनै मुद्दा वा अनुसन्धान सार्वजनिक रूपमा पुष्टि भएको छैन।
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजपुर नगरपालिका–५ स्थित जनता (नमुना) माध्यमिक विद्यालयको ८ कोठे प्रिस्कुल ब्लक निर्माणमा अनियमितता भएको निष्कर्ष निकाल्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित चार जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार बहुवर्षीय गुरुयोजनाअन्तर्गत निर्माण गरिएको भवनमा वास्तविक कार्यभन्दा बढी मूल्याङ्कन गरी सरकारी रकम हिनामिना गरिएको छ। सुरुमा ९७ लाख ३७ हजार ९९४ रुपैयाँ लागत अनुमान गरिएको परियोजनाको लागत संशोधनपछि १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ पुर्याइएको थियो।
निर्माण सम्पन्न भएपछि १ करोड ९ लाख ८१ हजार ५०१ रुपैयाँ खर्च भएको देखाइए पनि आयोगको स्थलगत निरीक्षण तथा नापजाँचका क्रममा ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बराबरको काम कम भएको भेटिएको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा नभएको कामलाई भएको देखाएर झुटो बिल, भरपाई तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी सरकारी कोषलाई हानि पुर्याइएको आयोगको आरोप छ।
यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र तथा लेखापाल शेख जाहिरविरुद्ध जनही ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुलउपरको माग गरिएको छ।
