काठमाडौं । सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयमा ड्युटीमा खटिएका प्रहरी जवानले बोकेको एसएलआर राइफल असावधानीवश पड्किँदा अर्का एक प्रहरी जवान घाइते भएका छन्।
बुधबार राति करिब ११ः२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकमा ड्युटीमा रहेका प्रहरी जवान बिसोजित राय यादवले बोकेको एसएलआर राइफलबाट अचानक गोली चलेको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रूपक खड्काका अनुसार गोली कारागारको भित्तामा लागेको थियो। त्यसपछि उछिट्टिएको गोलीको टुक्रा लागेर २२ वर्षीय प्रहरी जवान अजयकुमार मोताको कम्मरमाथिको ढाडमा चोट लागेको हो।
घाइते मोतालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
