सिरहा । सिरहाको सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरी र कारोबारी समूहबीच गोली हानाहान भएको छ। घटनामा भारतका एक लागूऔषध कारोबारी प्रहरीको गोली लागेर घाइते भएका छन् भने उनका केही सहयोगी फरार भएका छन्।
शुक्रबार दिउँसो नवराजपुर गाउँपालिका–५ स्थित सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा टोली परिचालन गरिएको थियो।
प्रहरीले संदिग्ध व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। कारोबारी समूहले एक राउन्ड गोली चलाएपछि प्रहरीले जवाफी कारबाहीस्वरूप दुई राउन्ड गोली चलाएको थियो।
प्रहरीको गोली लागेर भारतको बिहार राज्य, मधुवनी जिल्लाका करिब २४ वर्षीय अब्दुल कलाम घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। घाइते कलामलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ।
घटनास्थलबाट प्रहरीले प्लास्टिकसहित १२२.८० ग्राम ब्राउन सुगरजस्तो देखिने लागूऔषध र एक थान कटुवा पेस्तोल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार पक्राउ परेका कलाम उक्त समूहका मुख्य सदस्य हुन्। उनीसहितको समूहले भारतबाट नेपालतर्फ व्यावसायिक रूपमा लागूऔषध तस्करी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि समूहका अन्य २–३ जना भने फरार भएका छन्। उनीहरूको खोजीका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पनि केही दिनअघि सिरहा प्रहरीले अर्को अपरेसनमा गोली चलाएर दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको थियो। पछिल्ला घटनाले सिरहाको सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करीविरुद्ध प्रहरीले निगरानी र कारबाही थप कडा बनाएको देखिएको छ।
