काठमाडौं । राहदानी खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको अनुसन्धानलाई लिएर प्रश्न उठिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी टोलीमा व्यापक फेरबदल गरिएको छ।
प्रहरी प्रधान कार्यालयले आयोगमा काजमा रहेका एसपी मोहन थापासहित एक दर्जनभन्दा बढी प्रहरी अधिकारीलाई फिर्ता बोलाएको हो। थापाको स्थानमा संयुक्त राष्ट्रसंघ (यूएन) शाखामा कार्यरत एसपी सुधिरराज शाहीलाई खटाइएको स्रोतले जनाएको छ।
प्रहरी स्रोतका अनुसार राहदानी खरिद प्रक्रियासम्बन्धी अनुसन्धानमा देखिएको कार्यसम्पादन र अनुसन्धानको प्रभावकारिताबारे गुनासो आएपछि काज फिर्ताको निर्णय गरिएको हो। यस विषयमा थप छानबिनसमेत हुने बताइएको छ।
स्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङले अख्तियारमा कार्यरत प्रहरी अधिकारीहरूको व्यापक सरुवाका लागि निर्देशन दिएका थिए। प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार डिआइजी शेखर खनालबाहेक अधिकांश प्रहरी अधिकारीलाई फिर्ता बोलाउने निर्णय भएको हो। पिएसओसमेत सरुवा गर्ने तयारी भए पनि तत्कालका लागि उक्त निर्णय स्थगित गरिएको स्रोतको भनाइ छ।
राहदानी खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा केही व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याइएको तथा अनुसन्धानमा लापरबाही भएको गुनासोसमेत आएको स्रोतले जनाएको छ। ती विषयमा पनि थप छानबिन हुने बताइएको छ।
यसैबीच, अख्तियारमा कार्यरत एसपी मोहन थापामाथि राहदानी खरिद प्रक्रियासँग सम्बन्धित कम्पनीका नेपाली प्रतिनिधि सिद्धार्थ थापालाई हाजिरी जमानीमा छाडेको आरोप लागेको छ।
अख्तियारबाट फिर्ता बोलाइएका प्रहरी अधिकारीहरूमा डीएसपी उमेश लम्साल, मदनजित महरा, गौतम थापा, दीपककुमार कार्की र भीम खड्का रहेका छन्।
यस्तै, इन्स्पेक्टर ज्ञानमञ्जरी शर्मा, हिमबहादुर केसी, किशोर केसी, सुजन पाठक, रामजी देवकोटा, फुलमाया घिसिङ, साकारराज पन्त, श्यामसुन्दर पाठक, उमेश श्रेष्ठलगायतको टोली पनि आयोगबाट फिर्ता भएको प्रहरी स्रोतले जनाएको छ।
