महोत्तरी । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका नेकपा (एमाले)का नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी) पक्राउ परेका छन्।
प्रहरीले उनलाई महोत्तरीको गौशालास्थित एमाले पार्टी कार्यालयबाट पक्राउ गरेको जनाएको छ। फरार रहेका कोइरी उक्त कार्यालयमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।
उच्च अदालत जनकपुरले यसअघि महोत्तरी जिल्ला अदालतको फैसला उल्टाउँदै कोइरीलाई असई थमन विक हत्या प्रकरणमा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो।
२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा उपचारका लागि एम्बुलेन्समा लगिँदै गरेका सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको थियो। उक्त घटनामा लक्ष्मी महतो (कोइरी)सहित २८ जनाविरुद्ध २०७५ साउन २८ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो।
फैसला कार्यान्वयनका क्रममा प्रहरीले कोइरीलाई पक्राउ गरेको हो। अब उनलाई अदालतको आदेशअनुसार कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित कारागार पठाइने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
