कञ्चनपुर । अदालतको फैसला कार्यान्वयन गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई पक्राउ गरेको छ।
जिल्ला अदालत कञ्चनपुरले गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ महिना ७ दिन कैद सजाय र १२ हजार १ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसला कार्यान्वयनका लागि उनलाई आज बिहान ७ बजे भीमदत्त नगरपालिकाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
यसैगरी उच्च अदालतले समेत सोही प्रकरणमा भण्डारीलाई २ हजार १ सय रुपैयाँ जरिवाना र थप ७ दिन कैद सजाय हुने फैसला सुनाएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार पक्राउ परेका भण्डारीको हकमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयन गरिनेछ।
भण्डारीविरुद्धको मुद्दामा भएको फैसलाअनुसार बाँकी कैद तथा जरिवाना असुलउपर गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको जनाएको छ।
