काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धिका लागि विभिन्न डिजिटल फरेन्सिकसम्बन्धी सफ्टवेयर तथा हार्डवेयर उपकरण हस्तान्तरण गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा उक्त उपकरण हस्तान्तरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले अमेरिकी दूतावासले डिजिटल फरेन्सिक ल्याबको विकास र सुदृढीकरणका लागि उन्नत उपकरण, विशेष सफ्टवेयर तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताए।
उनले यस्ता सहयोगले नेपाल प्रहरीको डिजिटल अपराध अनुसन्धान क्षमतामा वृद्धि गर्नुका साथै दुई देशबीचको विश्वास, मित्रता र साझा प्रतिबद्धतालाई थप मजबुत बनाउने उल्लेख गरे।
