रौतहट । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओमप्रसाद अधिकारीले प्रहरी कर्मचारीलाई संगठनको मर्यादा कायम राख्दै नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
मंगलबार जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षणपछि आयोजित निर्देशन कार्यक्रममा डिआईजी अधिकारीले प्रहरी आचरणविपरीतका गतिविधिमा संलग्न नहुन, अनुशासन र व्यावसायिक निष्ठाका साथ जिम्मेवारी पूरा गर्न आग्रह गरे।
उनले लागुऔषध नियन्त्रण, अवैध चोरी–पैठारी नियन्त्रण, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका अनुसार डिआईजी अधिकारीले सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गैरव्यावसायिक आर्थिक गतिविधिबाट टाढा रहन तथा प्रहरी संगठनको नीति र आचरण पालना गर्न स्पष्ट निर्देशन दिएका थिए।
बल प्रयोग गर्नुपर्ने अवस्थामा मानव अधिकारको सम्मान गर्दै कानुनसम्मत र व्यावसायिक ढंगले काम गर्नुपर्नेमा जोड दिँदै उनले प्रहरी कर्मचारीका समस्या र गुनासा विधिसम्मत प्रक्रियाबाट सम्बोधन गरिने बताए।
निरीक्षणका क्रममा डिआईजी अधिकारीले जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखा, ब्यारेक, क्वार्टर गार्ड तथा मेसको अवस्थासमेत अवलोकन गरेका थिए।
कार्यक्रममा एसपी सिताराम रिजाल, गरुडा इलाका प्रहरी कार्यालयका डीएसपी शंकरप्रसाद आचार्य, चन्द्रपुर इलाका प्रहरी कार्यालयकी डीएसपी रुपा लाबुङलगायत जिल्लाका प्रहरी युनिट प्रमुखहरूको उपस्थिति रहेको थियो।
