काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि सिफारिस भएका उत्कृष्ट १० उम्मेदवारको सूची सार्वजनिक गरेसँगै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामाथि पनि प्रश्न उठ्न थालेको छ।
सार्वजनिक सूचीमा परेका केही उम्मेदवारहरूको पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धित निजी कलेजहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध तथा लगानी रहेको दाबी गर्दै हितको द्वन्द्व (Conflict of Interest) को विषयमा बहस सुरु भएको हो।
सार्वजनिक रूपमा उठाइएका दाबीअनुसार, प्राध्यापक डा. अनिलकुमार पोखरेल कला तथा कानून संकायका डीन रहेका बेला विराटनगरस्थित अन्नपूर्ण ल कलेजले सम्बन्धन प्राप्त गरेको थियो।
उक्त कलेजमा उनको लगानी रहेको र पद तथा प्रभाव प्रयोग गरी सम्बन्धन दिलाइएको भन्ने आरोपसमेत उठाइएको छ। यद्यपि, यस विषयमा सम्बन्धित पक्षबाट आधिकारिक प्रतिक्रिया वा पुष्टि सार्वजनिक भएको छैन।
त्यस्तै, प्राध्यापक डा. दिलीप पराजुलीकी पत्नी भक्तपुरस्थित निकोल्सन कलेजकी संस्थापक सदस्य रहेको तथा पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धित अर्किड कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीका सञ्चालक बिदुर दाहाल पनि उक्त कलेजसँग आबद्ध रहेको दाबी सार्वजनिक भएको छ। यसले सम्भावित हितको द्वन्द्वबारे थप प्रश्न खडा गरेको टिप्पणी गरिएको छ।
उपकुलपति जस्तो महत्वपूर्ण शैक्षिक नेतृत्व पदमा नियुक्ति गर्दा उम्मेदवारहरूको निष्पक्षता, पारदर्शिता र सम्भावित स्वार्थ बाझिने अवस्थाबारे गम्भीर मूल्याङ्कन हुनुपर्ने आवाज सरोकारवालाहरूले उठाइरहेका छन्।
यस विषयमा सम्बन्धित उम्मेदवारहरू तथा छनोट प्रक्रियामा संलग्न निकायको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।
