काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले लागू औषध ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८२/०३/२९ गते राति करिब ११:०० बजेको समयमा काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित पौडेल टोलमा लागू औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले निगरानी तथा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा बा ६४ प ५०२२ नम्बरको स्कुटरमा आएका जिल्ला सिन्धुपाल्चोक, सागाचोक नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–११ भोटेबहाल बस्ने २६ वर्षीय अनिल गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको साथबाट लागू औषध ट्रामाडोल ३६५० ट्याब्लेट (३६५ पत्ता), नगद रु ३५ हजार ३५० र स्कुटर बरामद गरिएको छ।
पक्राउ परेका गिरीलाई लागू औषधसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
