काठमाडौं । नियमविपरीत कालो सिसा (Tinted Glass) जडान गरी निजी सवारी चलाउने चालकहरूमाथि ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक सुरक्षा र अनुशासनलाई मध्यनजर गर्दै कालो सिसा राखिएका सवारी साधनलाई सडकमै नियन्त्रणमा लिएर कारबाही गर्दै आएको जनाएको छ। कसुरको प्रकृति हेरी तत्काल जरिवाना गरिनुका साथै सवारीको सिसामा लगाइएको कालो फिल्म हटाउन लगाइने गरिएको छ।
सरकारले प्रस्ताव गरेको नयाँ सवारी तथा यातायातसम्बन्धी विधेयकमा भने यस्तो कसुरमा जरिवाना रकम अझ बढाउने प्रस्ताव गरिएको छ। प्रस्तावित व्यवस्थाअनुसार नियमविपरीत कालो सिसा प्रयोग गर्ने चालकलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ।
हाल ट्राफिक नियम उल्लंघनअन्तर्गत कालो सिसा प्रयोग गर्ने सवारीलाई नियन्त्रणमा लिई जरिवाना गर्ने र कालो फिल्म हटाउन लगाउने गरिएको छ।
