काठमाडौं । चन्द्रागिरि तेक्वान्दो डोजाङ्ले आफ्नो १२औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको छ ।
स्थापना दिवसको अवसरमा डोजाङ्ले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरेको छ । वर्ष उत्कृष्ट खेलाडीका रूपमा बाजुरा बुढिन्नदा नगरपालिका स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ मा बस्दै आएका सौरभ मल्ललाई सम्मान गरिएको हो ।
त्यस्तै, अनुशासित खेलाडीका रूपमा राकेश आले मगरलाई सम्मान गरिएको थियो ।
दुर्गम जिल्ला बाजुराबाट काठमाडौं आएर तेक्वान्दो क्षेत्रमा निरन्तर मेहनत गर्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भएका सौरभ मल्लले चन्द्रागिरि तेक्वान्दो डोजाङ्मार्फत आफ्नो खेल क्षमता विकास गर्दै आएका छन् ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी प्रमुख अतिथि तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राकेश कुमार राई विशेष अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमको अध्यक्षता सन्तोषी महर्जनले गरेकी थिइन् ।
स्थापना दिवसका अवसरमा वक्ताहरूले तेक्वान्दो खेलको विकास, खेलाडीको अनुशासन र युवा प्रतिभाको प्रोत्साहनमा चन्द्रागिरि तेक्वान्दो डोजाङ्ले पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए ।
डोजाङ्ले आगामी दिनमा पनि नयाँ प्रतिभाको पहिचान, खेलाडी उत्पादन र तेक्वान्दोको प्रवर्द्धनमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
