पर्सा । गण्डक प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार पिन्टु सिंहमाथि चेकजाँचको नाममा सवारीसाधन तथा व्यवसायीसँग रकम असुल्ने गरेको आरोप लागेको छ । स्थानीय स्रोतका अनुसार सिंहले घुमुवा प्रहरीको भूमिकामा रहेर विभिन्न स्थानमा रकम उठाउने गरेको दाबी गरिएको छ ।
गण्डक चोक आसपासका क्षेत्रमा विभिन्न बहानामा सवारीसाधन रोकेर १ सयदेखि १ हजार रुपैयाँसम्म रकम लिने गरेको आरोप छ । यस्तै, सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्रिने सामान नियन्त्रण गर्ने नाममा बीच बाटोमै सामान रोक्ने र रकम लिएर छाड्ने गरेको स्रोतको दाबी छ ।
पर्सा र बारासँग जोडिएका विभिन्न नाकाबाट अवैध रूपमा भित्रिएका सामान जितपुर हुँदै काठमाडौंसम्म पुग्ने गरेको र त्यस्ता गतिविधिमा संलग्न केही व्यापारी तथा कारोबारीसँग नियमित आर्थिक कारोबार हुने गरेको आरोपसमेत लागेको छ ।
स्थानीयका अनुसार छपकैया, अलौ, अमरपाटी, प्रसौनी भाठा, सबैठवा, भिस्वा, जनकिटोलालगायत पर्साका तथा बाराका विभिन्न नाकाबाट सामान ल्याउने व्यापारीहरूसँग मासिक रकम उठाउने गरिएको दाबी छ ।
नाम उल्लेख नगर्ने सर्तमा एक व्यापारीले भने, ‘व्यापार गर्न निकै समस्या भएको छ । मासिक रकम नदिए सामान रोक्ने, अनावश्यक चेकजाँच गर्ने जस्ता समस्या भोग्नुपर्छ।’
स्थानीय स्रोतका अनुसार ट्रान्सपोर्ट व्यवसायी, कपडा व्यापारी, खाद्यान्न कारोबारी तथा गोदाम सञ्चालकहरू समेत यस्तो गतिविधिबाट प्रभावित भएको गुनासो गरेका छन् । रकम नबुझाउने व्यवसायीलाई विभिन्न बहानामा दबाब दिने गरेको आरोप छ ।
यता, गण्डक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनिष सिंहले आर्थिक गतिविधिका लागि प्रहरी सहायक हवल्दार पिन्टु सिंहलाई घुमुवाको रूपमा परिचालन गरेको आरोपसमेत लगाइएको छ ।
सुरक्षा र अपराध नियन्त्रणका लागि खटिएका प्रहरीमाथि नै आर्थिक अनियमितताको आरोप लाग्नु गम्भीर विषय भएको भन्दै स्थानीयले सम्बन्धित निकायबाट निष्पक्ष छानबिनको माग गरेका छन् ।
प्रहरीको उपस्थितिले चोरी–तस्करी नियन्त्रण हुनुपर्नेमा उल्टै त्यस्ता गतिविधिलाई संरक्षण मिल्ने अवस्था आएमा कानुन कार्यान्वयनमा प्रश्न उठ्ने स्थानीयको भनाइ छ ।
