रौतहट । रौतहट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा बेवारिसे अवस्थामा फेला परेको भारतीय नम्बर प्लेटको स्कोर्पियो गाडी जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ ।
प्रहरीले सँगसँगै अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन अभियानलाई समेत तीव्र बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार डब्लु बी ०२ डब्लु १५८७ (WB 02 W 1587) नम्बरको भारतीय स्कोर्पियो गत जेठ ३१ गते मौलापुर नगरपालिका–स्थित आईटी चोक नजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो ।
गाडीको स्वामित्व दाबी गर्न कोही नआएपछि प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको थियो । कानुनी प्रक्रिया पूरा गरेपछि करिब २० लाख रुपैयाँ मूल्यांकन गरिएको उक्त स्कोर्पियो शुक्रबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको डीएसपी गौतमले जानकारी दिए ।
सीमावर्ती क्षेत्रमा भन्सार छलीका सवारीसाधन भित्रिने गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी बढाएको जनाएको छ ।
यसैबीच, फैसला कार्यान्वयन अभियानअन्तर्गत प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिबाना तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चेक अनादर मुद्दाका दुर्गा सहनी, राकेश साह र विनोद अर्याल, कुटपिट मुद्दाका रामचन्द्र यादव र रामशंकर यादव तथा जालसाजी मुद्दाका सुखाडी यादव रहेका छन् ।
उनीहरूबाट अदालतले तोकेको ३ लाख ४० हजार रुपैयाँ जरिबाना असुल गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गौरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
भन्सार छली नियन्त्रण र अदालतका फैसला कार्यान्वयनलाई समानान्तर रूपमा अघि बढाउँदै रौतहट प्रहरीले कानुन कार्यान्वयनमा सक्रियता बढाएको देखिएको छ ।
