बुटवल । प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट नतिजा हासिल गर्दै पहिलो स्थान प्राप्त गरेको छ ।
प्रहरी प्रधान कार्यालयले मातहतका प्रदेश प्रहरी कार्यालयहरूको कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिकमुखी प्रहरी सेवाका आधारमा गरेको मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट ठहरिएको हो ।
डीआईजी खत्रीको नेतृत्वपछि लुम्बिनी प्रहरीले प्रविधिमैत्री सेवा, नागरिकसँगको सम्बन्ध सुधार र सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।
प्रहरी सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन डिजिटल उजुरी प्रणाली, एसएमएसमार्फत सेवाग्राहीलाई जानकारी दिने व्यवस्था लगायतका प्रविधिको प्रयोगलाई विस्तार गरिएको छ । त्यस्तै साइबर अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा र नवप्रवर्तनमा केन्द्रित ‘ह्याक फर सेफ्टी’ जस्ता कार्यक्रममार्फत प्रहरी सेवामा नयाँ अभ्यास अघि बढाइएको छ ।
नागरिक केन्द्रित प्रहरी सेवाको अवधारणाअनुसार डीआईजी खत्रीले मातहतका जिल्ला प्रहरी कार्यालय तथा सीमावर्ती प्रहरी इकाइहरूको नियमित अनुगमन गर्दै सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहितामा जोड दिँदै आएका छन् ।
लुम्बिनी प्रदेश प्रहरीले सीमा सुरक्षा, अपराध नियन्त्रण तथा मानव बेचबिखन र ठगीविरुद्ध विशेष अभियान सञ्चालन गर्दै आएको छ । भारतको कुशीनगर लगायतका क्षेत्रमा बन्धक बनाइएका सयौं नेपाली नागरिकको उद्धार तथा विभिन्न अपराध सञ्जालमाथि गरिएको कारबाहीले समेत प्रहरीको प्रभावकारिता देखाएको छ ।
प्रविधिको उच्च प्रयोग, कडा अनुशासन र व्यावसायिक नेतृत्वका कारण डीआईजी खत्री नेतृत्वको लुम्बिनी प्रदेश प्रहरीले संगठनभित्र मात्र नभई नागरिकस्तरमा समेत सकारात्मक प्रभाव पार्दै उत्कृष्ट कार्यसम्पादन मूल्यांकन हासिल गर्न सफल भएको हो ।
