विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला कारागार मोरङका कैदीबन्दीबाट रकम असुली गरेको आरोपमा गिरीलाई शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले गिरीको निवासमा खानतलासी गरेको थियो । घरमा शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकम समेत असुली गर्ने गरेको आरोप छ । मोरङ कारागारमा हाल १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ कैदीबन्दी रहेका छन् ।
उनीहरूले दैनिक ८० रुपैयाँ भत्ता पाउँछन्, जसको कुल रकम दैनिक करिब ९६ हजार रुपैयाँ हुन आउँछ ।
त्यसबाहेक कारागारभित्र करिब ५ सय जनाले मुडा र १ सय जनाले गलैँचा बुन्ने काम गर्छन् । ती सामग्री बिक्रीबाट आएको रकम र सरकारले पठाउने जाडो गर्मी भत्ता समेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा लिने गरेको गुनासो प्रहरीमा पुगेको थियो । जाडोमा २५ सय र गर्मीमा २५ सय रूपैयाँ कपडा खरिदका लागि भनेर सरकारले उपलब्ध गराउदै आएको छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘कैदीबन्दीको पैसा कुन–कुन च्यानलबाट गिरीको खातामा पुग्यो भन्नेबारे हामी प्रमाण संकलन गरिरहेका छौँ । प्रारम्भिक सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।’ गिरीले आफना सहयोगिको खातामा पैसा पठाउन लगाएर लिने गरेको खुलेको सुरक्षा स्रोतले बतायो ।
प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले गिरीको घर अगाडि पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको समेत खानतलासी गरेको थियो । गाडीमा केही फेला नपरेपछि प्रहरीले घरभित्र सर्च गरेको थियो ।
मोरङका प्रहरी उपरीक्षक एसपी कवित कटुवालले घटनाको विषयमा विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिए । यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रही कैद भुक्तान गरिसकेका गिरी कारागारबाट छुटेपछि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
गिरीले भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको दाबी गरेका छन् ।
