काठमाडौं । नेपाल प्रहरीको मासिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी परिसर काठमाडौं देशभरका जिल्ला प्रहरी कार्यालयमध्ये उत्कृष्ट अङ्क हासिल गर्दै पहिलो स्थानमा पर्न सफल भएको छ।
नेपाल प्रहरीले अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन, अनुसन्धानको प्रभावकारिता, फरार अभियुक्त पक्राउ, समुदाय–प्रहरी साझेदारी तथा नागरिकमैत्री सेवा प्रवाहलगायतका विभिन्न सूचकलाई आधार बनाएर गरेको मूल्याङ्कनमा काठमाडौं प्रहरी अग्रस्थानमा आएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व हाल एसएसपी दिलीप घिमिरेले गरिरहेका छन्। उहाँको नेतृत्वमा प्रविधिमैत्री प्रहरी परिचालन, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकता दिँदै अघि बढाइएको रणनीतिले सकारात्मक परिणाम दिएको प्रहरी स्रोतको भनाइ छ।
काठमाडौं प्रहरीले इलेक्ट्रोनिक क्विक रेस्पोन्स टिम (EQRT), जीपीएस प्रणालीमार्फत प्रहरी परिचालन, फरार अभियुक्त पक्राउ अभियान तथा अदालतका फैसला कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको छ। लामो समयदेखि फरार रहेका अभियुक्त पक्राउ गर्नुका साथै जरिवाना असुलीमा समेत प्रहरीले प्रभावकारी काम गरेको छ।
त्यसैगरी ज्यानसम्बन्धी अपराध, आर्थिक अपराध, महिला तथा बालबालिकासम्बन्धी घटनाको अनुसन्धानलाई थप प्रभावकारी बनाइएको छ। ‘हाम्रो प्रहरी’ अभियानमार्फत नागरिकसँग प्रत्यक्ष संवाद, गुनासो सम्बोधन तथा समुदाय–प्रहरी साझेदारीलाई समेत प्राथमिकतामा राखिएको छ।
पछिल्लो समय प्रविधिको प्रयोग, छिटो प्रहरी परिचालन, अनुसन्धानमा सुधार तथा सेवा प्रवाहमा देखिएको प्रभावकारिताका कारण काठमाडौं प्रहरीको कार्यसम्पादन मजबुत बनेको देखिन्छ।
नियमित कार्यसम्पादन मूल्याङ्कनमा देशभरकै जिल्ला प्रहरी कार्यालयमध्ये पहिलो स्थान हासिल गर्नु नेतृत्व, अनुशासन र प्रहरी टोलीबीचको समन्वयको परिणामका रूपमा हेरिएको छ।
