काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले काठमाडौं र ललितपुरबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१७ ढल्कुबाट जिल्ला रामेछाप दोरम्बा गाउँपालिका–३ का ४२ वर्षीय टेकबहादुर थापा मगरलाई पक्राउ गरेको हो। उनको साथबाट लागूऔषध खैरो हेरोइन ८६ ग्राम ७२० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
थप अनुसन्धानका क्रममा निज टेकबहादुर थापा मगरलाई खैरो हेरोइन बिक्री गर्ने व्यक्ति खोजी गर्ने क्रममा सिन्धुली दुधौली नगरपालिका–१० का २४ वर्षीय सन्तबहादुर बस्नेतलाई समेत पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
प्रहरीले बस्नेतलाई ललितपुर महानगरपालिका–७ बालकुमारीबाट लागूऔषध खैरो हेरोइन ८० ग्रामसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
