काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) को टोलीले लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमध्ये एक जना कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट लामो समयदेखि निगरानीमा रहेका भारतबाट लागूऔषध खैरो हेरोइन ल्याई सुनसरी, धनकुटा, इलाम र भोजपुर जिल्लामा बिक्री वितरण गर्ने व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
प्रहरीकाअनुसार पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका–३ का ४२ वर्षीय विष्णु धामी, सोही स्थानका ३६ वर्षीय रुद्रबहादुर सुवेदी र सुनसरी रामधुनी नगरपालिका–६ का ४८ वर्षीय विजय राज धामी रहेका छन्।
अनुसन्धानका क्रममा विष्णु धामी कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरी छुटेको अभिलेखबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट लागूऔषध खैरो हेरोइन २७९ ग्राम, नगद २ लाख ४५ हजार ८०० रुपैयाँ र डिजिटल तराजु ३ थान बरामद गरेको छ।
पक्राउ परेका विष्णु धामी र रुद्रबहादुर सुवेदीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरी तथा विजय राज धामीलाई इलाका प्रहरी कार्यालय पकली सुनसरीमा बुझाई थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
