काठमाडौं । नेपाल प्रहरी अस्पतालकी वरिष्ठ चिकित्सक प्रहरी उपरीक्षक (एसएसपी) डा. दीपा न्हूच्छे प्रधानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। शैक्षिक योग्यता, विशेषज्ञता दर्ता, रेडियोलोजी अभ्यास तथा विगतमा विभागीय कारबाही सिफारिस भएको विषयलाई दबाएर जिम्मेवारी दिइएको आरोपसहित उजुरी दर्ता भएको हो।
हाल नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. प्रधान अस्पतालका वरिष्ठ चिकित्सकमध्ये दशौं नम्बरको वरीयतामा रहेकी छन्। उनी हाल रेडियोलोजी विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालिरहेकी छन्।
अख्तियारमा २०८२ चैत १९ गते दर्ता भएको बेनामी उजुरी C०५३४५५/२०८२-१२-१९ मा डा. प्रधानले पेश गरेका शैक्षिक प्रमाणपत्र, नेपाल मेडिकल काउन्सिल (एनएमसी) दर्ता, रेडियोलोजी विभागमा गरेको अभ्यास तथा विभागीय नेतृत्वबारे विस्तृत छानबिनको माग गरिएको छ।
उजुरीकर्ताको दाबीअनुसार डा. प्रधान २०६६ सालमा एमडी रेडियोडायग्नोसिस अध्ययनका लागि चीन गएकी थिइन्। तर, उनले फर्किएपछि एमडी नभई ‘डिप्लोमा इन आर्मी मेडिसिन (मेडिकल इमेजिङ)’ सम्बन्धी प्रमाणपत्र पेश गरेको देखिएको छ। उक्त योग्यताको त्रिभुवन विश्वविद्यालयबाट समकक्षता नगरिएको र सोही आधारमा विशेषज्ञ चिकित्सकसरह कार्य गर्दै आएको आरोप उजुरीमा उल्लेख छ।
उजुरीमा चीनस्थित शैक्षिक संस्थामा अध्ययन गरेको अवधि, प्रशिक्षण तथा पोस्टिङसम्बन्धी कागजातमा समेत प्रश्न उठाइएको छ। अध्ययन अवधिको केही समयको शैक्षिक अभिलेख उपलब्ध नभएको तथा त्यसबारे सम्बन्धित निकायले स्पष्ट जवाफ दिनुपर्ने माग गरिएको छ।
उजुरीकर्ताले डा. प्रधानले आवश्यक विशेषज्ञ योग्यता र कानुनी आधारबिना लामो समयदेखि रेडियोलोजीसम्बन्धी रिपोर्टिङ तथा निदानको कार्य गरेको आरोप लगाएका छन्। नेपाल मेडिकल काउन्सिलको दर्ता प्रक्रिया र विशेषज्ञ दर्तासम्बन्धी प्रमाणपत्रमाथि समेत छानबिन हुनुपर्ने माग गरिएको छ।

कारबाही सिफारिस भएकी चिकित्सकलाई विभाग प्रमुख बनाइएको आरोप
डा. प्रधान यसअघि लुम्बिनी प्रदेश प्रहरी अस्पतालको प्रमुख रहँदा विवादमा तानिएकी थिइन्। त्यतिबेला अस्पतालको एम्बुलेन्स दुरुपयोग तथा भन्सारसम्बन्धी विषयमा उनीमाथि छानबिन भएको थियो।
स्रोतका अनुसार उक्त घटनापछि नेपाल प्रहरीले डीआईजी सानुराम भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले घटनालाई गम्भीर ठहर गर्दै कडा विभागीय कारबाही तथा निलम्बनसम्म गर्नुपर्ने रायसहित प्रतिवेदन बुझाएको दाबी स्रोतको छ।
तर, त्यसपछि प्रहरी अस्पताल प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. सुन्दर प्रसाद ह्योजूले उनलाई केन्द्रमा फिर्ता बोलाएर सामान्य नसियत सजायमै सीमित राखेको आरोप छ। अझ त्यसको केही महिनामै उनलाई नेपाल प्रहरी अस्पतालको रेडियोलोजी विभाग प्रमुखको जिम्मेवारी दिइएको बताइन्छ।
कारबाही सिफारिस भएकी चिकित्सकलाई उल्टै संवेदनशील विभागको नेतृत्व दिइनु संरक्षणको परिणाम भएकोमा दुईमत छैन। जबकी उनलाई कारबाही भन्दै अस्पतालकै डीआईजी गोपेश कुमार ठाकुरले नसियत दिएका थिए । डा. प्रधानसँग सम्बन्धित विवादित विषयहरूबारे जानकारी हुँदाहुँदै एआईजी ह्योजुले संरक्षण गरेर राखेको बताइन्छ।
जबकी सोही विभागमा अर्का एसएसपी केदार खड्गीसमेत कार्यरत छन्। तर, एआईजी ह्योजूले विवादित एसएसपी प्रधानलाई संरक्षण गरेरै रेडियोलोजी जस्तो संवेदनशील विभागको जिम्मेवारी दिएका हुन्।

एसएसपी भएर एसपी दरबन्दीको अस्पताल प्रमुख
डा. प्रधान प्रायः प्राविधिक प्रहरी उपरीक्षक (एसपी) कार्यालय प्रमुख हुने लुम्बिनी प्रदेश प्रहरी अस्पतालको प्रमुखका रूपमा कार्यरत रहेको विषय पनि विवादको अर्को पाटो बनेको छ।
स्रोतका अनुसार उनलाई एआईजी ह्योजूकै निर्णयमा उक्त जिम्मेवारी दिइएको थियो। यसले प्रहरी संगठनभित्र पदअनुसार जिम्मेवारी वितरण तथा प्रशासनिक प्रक्रियामाथि समेत प्रश्न उठाएको छ।
हाल डा. प्रधान नेपाल प्रहरी अस्पतालको रेडियोलोजी विभाग प्रमुखका रूपमा कार्यरत छिन्। उजुरीकर्ताले उनीसँग सम्बन्धित शैक्षिक योग्यता, विशेषज्ञता दर्ता, विभागीय कारबाही तथा अस्पताल नेतृत्वको भूमिकामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
यस विषयमा डा. दीपा न्हूच्छे प्रधान, एआईजी डा. सुन्दर प्रसाद ह्योजू, नेपाल प्रहरी अस्पताल तथा नेपाल मेडिकल काउन्सिलको प्रतिक्रिया लिन खोजिएको भए पनि समाचार तयार पार्दासम्म प्राप्त हुन सकेको छैन।
