राजविराज । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ व्यावसायिक, अनुशासित र नागरिकमैत्री भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर (सम्पर्क कार्यालय राजविराज) को अनुगमन तथा निरीक्षणका क्रममा डीआईजी अधिकारीले प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीको निरीक्षणका क्रममा उनले जिल्लाको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान, फरार प्रतिवादी पक्राउ, ट्राफिक व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणको तयारी, जनशक्ति तथा स्रोत–साधनको अवस्थाबारे जानकारी लिएका थिए।
त्यसैगरी मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर (सम्पर्क कार्यालय राजविराज) मा पुगेर उनले कार्यालय, ब्यारेक, प्रशिक्षण गतिविधि तथा अन्य भौतिक पूर्वाधारहरूको निरीक्षण गरेका थिए। सो क्रममा तालिमरत तथा कार्यरत प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण समर्पित भई विभागले तोकेको कार्यभार इमान्दारीपूर्वक पूरा गर्न निर्देशन दिएका थिए।
डीआईजी अधिकारीले प्रहरी सेवाको मूल आधार व्यावसायिकता, अनुशासन र जनविश्वास भएको उल्लेख गर्दै सेवाग्राहीमैत्री व्यवहारलाई प्राथमिकतामा राख्न र कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्न समेत निर्देशन दिएका छन्।
