काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पदाधिकारी चयनलाई लिएर आन्तरिक छलफल तीव्र बनेको छ। सभापति रवि लामिछानेले चुनावभन्दा सहमतिका आधारमा पदाधिकारी चयन गर्ने प्रयास गरिरहेका बेला विभिन्न पदमा नयाँ समीकरणबारे छलफल भइरहेको स्रोतले जनाएको छ।
रास्वपाका एक उच्च स्रोतका अनुसार लामिछानेले वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीको विकल्पमा विपिन आचार्यलाई महामन्त्रीमा ल्याउने गृहकार्य गरिरहेका छन्। त्यसका लागि बुर्लाकोटीलाई सरकारमा मन्त्री बनाउने प्रस्तावसमेत अघि सारिएको बताइएको छ।
स्रोतका अनुसार महिला कोटाको उपसभापतिमा प्रतिभा रावललाई अघि सार्ने र हालको मन्त्री पदबाट फिर्ता बोलाउने प्रस्ताव पनि लामिछानेले गरेका छन्। रावल फिर्ता भएपछि रिक्त हुने मन्त्री पदमा बुर्लाकोटीलाई पठाउने र त्यसपछि विपिन आचार्यलाई महामन्त्रीमा ल्याउने रणनीतिमा लामिछाने रहेको दाबी गरिएको छ।
तर, उक्त प्रस्ताव कार्यान्वयन सहज देखिएको छैन। पार्टीको महामन्त्री पद छोडेर बुर्लाकोटी मन्त्री बन्न तयार हुन्छन् वा हुँदैनन् भन्ने चासो छ। यस्तै, मन्त्री पद त्यागेर रावल उपसभापतिमा सीमित हुन तयार हुन्छिन् कि हुँदैनन् भन्ने प्रश्न पनि उठिरहेको छ।
अर्कोतर्फ, पार्टी संकटमा रहेका बेला कोषाध्यक्षको जिम्मेवारी सम्हालेकी लिमा अधिकारीले पनि रावलका लागि उपसभापति पद छोड्ने सम्भावना कम रहेको नेताहरू बताउँछन्। त्यति मात्र होइन, मनिष झा र शिशिर खनालसमेत महामन्त्री पदका आकांक्षी रहेका छन्। उनीहरू आवश्यक परे महामन्त्रीका लागि निर्वाचनमै जाने तयारीमा रहेको स्रोतको दाबी छ।
यही कारण लामिछानेले खोजेजस्तो सर्वसम्मत सहमति तत्काल जुट्ने सम्भावना कम रहेको रास्वपाभित्र चर्चा छ। यद्यपि, सभापति लामिछाने भने प्रतिस्पर्धात्मक निर्वाचनभन्दा सहमतिमार्फत पदाधिकारी चयन गर्नुपर्ने पक्षमा रहेको स्रोतले जनाएको छ।
