काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै मुख्य सीमा नाकाहरूमा सादा पोसाकमा खटिने बोर्डर इन्टर्याक्सन टिम (बीआईटी) परिचालन गर्ने तयारी गरेको छ। सर्वसाधारणको आवतजावतलाई सहज बनाउनुका साथै सीमा व्यवस्थापनलाई व्यवस्थित गर्न यस्तो टोली गठन गर्न लागिएको सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले बताएका छन्।
बिहीबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजीपी पौडेलले नेपाल प्रवेश गर्ने प्रमुख नाकाहरूमा बीआईटी परिचालन गरिने जानकारी दिए। उनका अनुसार सीमा क्षेत्रमा खटिने उक्त टोलीले यात्रुहरूको आवश्यक सहजीकरण, स्क्रिनिङ तथा भारतीय सुरक्षाकर्मी लगायत काउन्टर पार्ट्ससँग समन्वय गरेर काम गर्नेछ।
‘सीमा नाकामा बोर्डर इन्टर्याक्सन टिम गठन गर्दैछौं। यो अभ्यास छिमेकी देशका काउन्टर पार्ट्समा पनि रहेको छ,’ आईजीपी पौडेलले भने, ‘बीआईटीलाई विशेष अनुशिक्षण दिइरहेका छौं र यसले समिति स्वरूपमा काम गर्नेछ।’
उनले आन्तरिक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सशस्त्र प्रहरीले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउँदै लगेको बताए। ‘हामी अझ राम्रो नतिजा कसरी दिन सकिन्छ भन्नेमा केन्द्रित छौं,’ उनले भने।
यसैबीच सशस्त्र प्रहरीले आगामी मनसुनलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यसम्बन्धी तयारी योजना पनि सार्वजनिक गरेको छ। सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै देशभरका १६ स्थानलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरी त्यहाँ विशेष बेस स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्र बहादुर कार्कीले जानकारी दिए।
सशस्त्रले धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रे, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेलधुरा, डोटी र कैलालीमा विपद् प्रतिकार्य बेस स्थापना गरेको छ। साथै सातवटै प्रदेशका ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस पनि सञ्चालनमा ल्याइएको छ।
विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीले ८ हजार १८० सुरक्षाकर्मीलाई २४सै घण्टा तयारी अवस्थामा राखेको जनाएको छ। संगठनमा विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त २१ हजार ६९९ जनशक्ति रहेको सशस्त्रको भनाइ छ।
यस्तै, देशभरका युनिटहरूमा ‘डिजास्टर फोकल पर्सन’ तोकिएको छ भने राष्ट्रिय तथा प्रदेशस्तरीय आपतकालीन कार्य सञ्चालन केन्द्रहरूमा समन्वयका लागि तालिमप्राप्त ९५ जना सशस्त्र प्रहरी कर्मचारी परिचालन गरिएको छ।
मनसुनजन्य विपद्को जोखिम बढिरहेका बेला सशस्त्र प्रहरीले सीमा सुरक्षा र विपद् प्रतिकार्य दुवै क्षेत्रमा तयारीलाई सुदृढ बनाएको जनाएको छ।
