धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोराङ्गे ब्यारेकबाट तालिमका लागि खटिएको टोली ग्रिनेड अभ्यासमा संलग्न थियो। सोही क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्ट गम्भीर घाइते भएका थिए। उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो।
घटनापछि तत्काल उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पुर्याइए पनि उपचारकै क्रममा दिउँसो करिब १२ बजे विष्टको मृत्यु भएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिना ले जानकारी दिएका छन्।
विस्फोटको समयमा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको बताइएको छ। थप उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।
घटना नियमित सैन्य अभ्यासका क्रममा भएको भए पनि ग्रिनेड विस्फोटको वास्तविक कारणबारे प्रश्न उठ्न थालेको छ। प्रयोग गरिएको ग्रिनेडमा प्राविधिक समस्या थियो वा सुरक्षा मापदण्ड पालना गर्दा कुनै कमजोरी भयो भन्ने विषयमा आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। सुरक्षा संवेदनशील मानिने सैन्य तालिमकै क्रममा भएको यो दुर्घटनाले तालिम व्यवस्थापन र जोखिम नियन्त्रणका उपायमाथि थप समीक्षा आवश्यक रहेको देखिएको छ।
नेपाली सेनाले घटनाबारे आन्तरिक अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरेको स्रोतहरूले बताएका छन्। घटनाको विस्तृत सत्य तथ्य सार्वजनिक भएपछि मात्र यो दुर्घटना सामान्य प्राविधिक त्रुटि थियो वा अन्य कुनै कारणले भएको हो भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ।
देशको सुरक्षाका लागि प्रशिक्षणमै खटिएका सैनिक हिमाल विक्रम विष्टको निधनले नेपाली सेना मात्र होइन, सिंगो राष्ट्रलाई स्तब्ध बनाएको छ।
