महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले प्रहरी कर्मचारीलाई नागरिकमैत्री व्यवहारसहित जनविश्वास बढाउने गरी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा सुदूरपश्चिम प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरको अनुगमन तथा निरीक्षणका क्रममा डीआईजी भट्टराईले प्रहरीको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका हुन्।
उनले प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ व्यावसायिक, अनुशासित र जिम्मेवार भएर काम गर्न आग्रह गर्दै संगठनप्रतिको जनविश्वास अभिवृद्धिमा विशेष ध्यान दिन निर्देशन दिए।
निरीक्षणका क्रममा डीआईजी भट्टराईले कार्यालयका विभिन्न शाखाहरूको अवलोकन गर्दै जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान, फरार प्रतिवादी पक्राउ, सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि गरिएको तयारी, उपलब्ध जनशक्ति र स्रोत–साधनको अवस्थाबारे जानकारी लिएका थिए।
त्यसैगरी उनले विपद् व्यवस्थापनका लागि प्रयोग हुने उपकरण तथा सामग्रीहरूको समेत निरीक्षण गरेका थिए।
डीआईजी भट्टराईले नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर तथा नेपाल प्रहरी विशेष सुरक्षा गण बेस क्याम्प महेन्द्रनगर, कञ्चनपुरको समेत स्थलगत अनुगमन गरेका थिए।
