धनगढी । कैलाली प्रहरीले धनगढी बजार क्षेत्रका विभिन्न ६ वटा होटलमा छापा मारेर यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा २४ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार होटलहरूमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले निगरानीपछि छापा मारेको हो।
छापाका क्रममा ११ जना महिला र १३ जना पुरुष गरी २४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्ने पुरुषमध्ये ७ जना भारतीय नागरिक रहेका छन्। नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले धनगढी बजार क्षेत्रका होटलहरूमा हुने अवैध गतिविधि नियन्त्रण गर्न निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
