विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ मा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको मृत्यु भएको छ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी ५० वर्षीय यादव मंगलबार दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याइए पनि उपचारकै क्रममा साँझ ४ः१६ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
मंगलबार विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए भने पछाडि सवार उनकी ४७ वर्षीया पत्नी रामपरी यादव पनि घाइते भएकी छन्। उनको दाहिने खुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यादव हालै नायब निरीक्षक (सई) बाट वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा पदोन्नति भई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा भएका थिए। तर नयाँ कार्यस्थलमा हाजिर हुनुअघि नै उनी दुर्घटनामा परेका हुन्।
घटनामा संलग्न विद्युतीय कारका चालक ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
