काठमाडौं । नेपाल प्रहरीका कर्मचारीले अब अर्धमासिक रूपमा १५/१५ दिनमा तलब पाउने भएका छन्।
प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई परिपत्र जारी गर्दै आगामी आर्थिक वर्षदेखि अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।
प्रशासन विभागका डीआईजी हिमालयकुमार श्रेष्ठद्वारा हस्ताक्षरित परिपत्रमा अर्थमन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको २०८३ वैशाख २१ गतेको पत्रअनुसार राष्ट्रसेवक कर्मचारीलाई हरेक महिनाको १५ दिन व्यतित भएपछि अर्धमासिक रूपमा तलब–भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाइएको उल्लेख छ।
परिपत्रमा सोही व्यवस्थाअनुसार आवश्यक प्रक्रिया पूरा गरी कार्यान्वयन गर्न सबै सम्बन्धित प्रहरी कार्यालयलाई अनुरोध गरिएको छ।
यस व्यवस्थासँगै नेपाल प्रहरीका कर्मचारीले अब मासिक एकमुष्ट नभई प्रत्येक १५ दिनको अन्तरालमा तलब प्राप्त गर्नेछन्।

