रुपन्देही । गुल्मीको इस्मा गाउँपालिका-५ का ४१ वर्षीय यामबहादुर कुमालले केही वर्षको अन्तरालमा दुई श्रीमतीको हत्या गरेका छन्। पहिलो श्रीमतीको हत्या अभियोगमा जेल सजाय भोगेका उनी संविधान दिवसको अवसरमा कैद मिनाह पाएर छुटेका थिए। अहिले दोस्रो श्रीमतीको हत्या गरेपछि पुनः कानुनी कारबाहीको दायरामा परेका छन्।
यामबहादुरका पहिलो श्रीमतीतर्फ दुई छोरी र एक छोरा तथा दोस्रो श्रीमतीतर्फ एक छोरा गरी चार सन्तान छन्। दुवै आमाको हत्या भएपछि र बुवा पुनः जेल जाने अवस्थामा पुगेपछि ती बालबालिकाको भविष्य अन्योलमा परेको स्थानीयवासी बताउँछन्।
इस्मा गाउँपालिका–५ का वडाध्यक्ष झविन्द्र अर्यालका अनुसार मंगलबार दिउँसो पनि यामबहादुरले श्रीमतीमाथि कुटपिट गरेको जानकारी स्थानीयले दिएका थिए। राति पुनः कुटपिट गरी हत्या गरेपछि शव छिमेकीको घर पछाडि फालिएको अवस्थामा बुधबार बिहान फेला परेको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार यामबहादुरले मादक पदार्थ सेवन गरी आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमालमाथि दाउराको चिर्पट प्रहार गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी मुनालाई प्रहरी चौकी धनार्जेबाट खटिएको टोलीले उद्धार गरी जिल्ला अस्पताल तम्घास पुर्याएको थियो। तर उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न यामबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा अनुसन्धान टोली खटाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरी निरीक्षक घलेका अनुसार यामबहादुर यसअघि पनि पहिलो श्रीमतीको हत्या अभियोगमा जेल परेका थिए। संविधान दिवसको अवसरमा कैद मिनाह पाएर छुटेका उनीमाथि अहिले दोस्रो श्रीमतीको हत्या गरेको आरोप लागेको छ।
वडाध्यक्ष अर्यालका अनुसार यामबहादुरले श्रीमतीको हत्या गरेपछि शव छिमेकी भोजराज भण्डारीको घर पछाडिको कुर्सुलोमा लगेर फालेका थिए।
