काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ड्युटीका क्रममा सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाउन मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ।
कार्यालयले मंगलबार ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग तथा पोस्टहरूलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो।
सर्कुलरमा ट्राफिक प्रहरीले सवारी चेकजाँचलगायतका ड्युटीका क्रममा सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात मिलाएको दृश्यबारे सामाजिक सञ्जाल तथा आम नागरिकबाट विभिन्न गुनासा प्राप्त भइरहेको उल्लेख गरिएको छ।
सोही आधारमा अबदेखि कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीको समयमा सवारी चालक वा अन्य सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा त्याग्नुपर्ने निर्देशन दिइएको छ। त्यसको सट्टा सम्मान प्रकट गर्न टाढैबाट नमस्कार गर्ने तथा गराउने व्यवस्था अपनाउन भनिएको छ।
यो निर्देशन प्रहरी उपरीक्षक नरेशराज सुवेदीको हस्ताक्षरमा जारी गरी सबै सम्बन्धित इकाईमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
