काठमाडौं । राहदानी (पासपोर्ट) छपाइसम्बन्धी भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) को नाम पनि जोडिएको खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार बोलपत्र मूल्याङ्कन उपसमितिमा सहभागि भएका एसपी पुष्करराज भट्टले सम्बन्धित कागजातमा हस्ताक्षर गरेको देखिएको छ। तर, उनीविरुद्ध भ्रष्टाचार मुद्दा भने दायर गरिएको छैन।
आयोगले अनुसन्धानमा सहयोग पुर्याएको आधारमा भट्टलाई साक्षीका रूपमा राखेको जनाएको छ। यस प्रकरणमा भट्टसहित मुकेश रेग्मी, दिनेश अधिकारी, धुव्र तिवारी, मुनिष आचार्य र मनिष भट्टराई लगायतलाई पनि साक्षी बनाइएको छ।
अख्तियारले राहदानी छपाइ तथा खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्षसहित सोमबार राहदानी विभागका तत्कालीन महानिर्देशकसहित १६ जना व्यक्ति तथा दुई जर्मन कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार राहदानी छपाइसम्बन्धी खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा प्रचलित कानुनी व्यवस्था उल्लंघन गरी राज्यलाई हानि पुर्याइएको आरोप लगाइएको छ। मुद्दामाथिको थप सुनुवाइ विशेष अदालतमा हुनेछ।
