काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा सवारी नियम उल्लंघन गर्ने २ हजार ६४१ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १४७ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १५४ जना तथा तीव्र गतिमा सवारी चलाउने १२२ जनालाई कारबाही गरिएको छ।
त्यस्तै, लेन अनुशासन उल्लंघन गर्ने ११९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ११३ जना, सडकपेटीमा सवारी पार्किङ गर्ने ११९ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १०० जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
यसका अतिरिक्त विभिन्न सवारी नियम उल्लंघन गर्ने अन्य १ हजार ६८८ जना चालक पनि कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
