रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम प्रसाद अधिकारीले मधेश प्रदेश प्रहरी गण, ढल्केवरको अनुगमन तथा निरीक्षण गरेका छन्।
सोमबार गणको निरीक्षण गर्दै डिआइजी अधिकारीले भौतिक अवस्था, प्रशासनिक व्यवस्थापन तथा सुरक्षा तयारीको अवलोकन गरेका थिए। निरीक्षणपछि कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले प्रहरी सेवामा जनविश्वास कायम गर्न व्यावसायिक, जिम्मेवार र नागरिकमैत्री बन्नुपर्नेमा जोड दिए।
उनले प्रहरी संगठनको मूल मन्त्र ‘सत्य, सेवा, सुरक्षणम्’ लाई व्यवहारमा उतार्दै नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिए। साथै सुशासन, अनुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्नुपर्ने बताए।
डिआइजी अधिकारीले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी कर्मचारीहरूले आफ्नो क्षमता अभिवृद्धि, नैतिक आचरण र सेवामुखी सोचलाई अझ बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे।
उनले गणको आन्तरिक व्यवस्थापन, स्रोत–साधनको उचित प्रयोग तथा संगठनात्मक अनुशासनमा निरन्तर सुधार गर्दै दक्ष र व्यावसायिक प्रहरी संगठन निर्माणमा केन्द्रित हुन निर्देशन दिए।
प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै विश्वासिलो सुरक्षा वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै डिआइजी अधिकारीले शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए।
निरीक्षण तथा निर्देशन कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई संगठनको जिम्मेवारी र सेवामूलक भूमिकाप्रति थप प्रतिबद्ध बन्न प्रेरित गरेको बताइएको छ।
