म प्रहरी सेवामा लागेको करिब १८ वर्ष भयो। यो अवधिमा मैले धेरै कुरा देखेँ, भोगेँ र सिकेँ। बर्दी लगाउँदा गर्व लाग्छ, किनकि देश र जनताको सुरक्षाका लागि खटिन पाउनु मेरो सौभाग्य हो। तर कहिलेकाहीँ यही बर्दीभित्र लुकेका पीडा, संघर्ष र बाध्यताहरू कसैले देख्दैन जस्तो लाग्छ।
हामी प्रहरीका लागि समय भन्ने कुरा अरूको जस्तो हुँदैन। बिहान, बेलुका, रात, शनिबार, सार्वजनिक बिदा वा चाडपर्व-हामीलाई यिनले खासै फरक पार्दैनन्। जब नागरिकलाई आवश्यकता पर्छ, हामी उपस्थित हुनैपर्छ।
अरूका घरमा दशैंको टीका चलिरहेको हुन्छ, तिहारमा देउसी–भैलो गुञ्जिरहेको हुन्छ, नयाँ वर्षमा परिवार रमाइरहेको हुन्छ, तर म भने सडकमा, चौकीमा, कार्यालयमा वा कुनै सुरक्षा जिम्मेवारीमा खटिरहेको हुन्छु।
नियमले हेर्दा मलाई पनि बिदाको अधिकार छ। घर बिदा छ, पर्व बिदा छ, बिरामी बिदा छ, सुत्केरी बिदासमेत छ। कागजमा हेर्दा सबै व्यवस्था राम्रो देखिन्छन्। तर व्यवहारमा बिदा लिनु सधैं सम्भव हुँदैन।
हाम्रो संगठनमा जनशक्ति अभावको समस्या पुरानै हो। म बिदामा जाँदा मेरो काम अर्को साथीले गर्नुपर्छ। एउटा साथी बिदामा जाँदा अर्कोमाथि थप भार पर्छ। त्यसैले धेरैपटक आफ्नो पालो आएको बिदा पनि मैले आफैं त्यागेको छु। ‘अहिले अवस्था मिलेन’, ‘अलि पछि जाऔँला’ भन्दै आफ्नै अधिकार छाड्नुपरेको अनुभव मसँग थुप्रै छन्।
सबैभन्दा बढी पीडा चाडपर्वका बेला हुन्छ। घरमा आमाबुबा, श्रीमती, छोराछोरी र आफन्तहरू मेरो प्रतीक्षामा हुन्छन्। फोन आउँछ- ‘यसपालि त आउँछौ नि?’ मसँग जवाफ हुँदैन। कहिले आशा देखाउँछु, कहिले मौन बस्छु। अन्तिम समयमा फेरि ड्युटी पर्छ र घर जाने योजना रद्द हुन्छ।
मलाई अझै सम्झना छ- गत दशैंमा मेरो सानो छोराले फोनमा भनेको थियो, ‘बुबा, सबैका बुबा घर आउनुभयो, तपाईं कहिले आउनुहुन्छ ‘ त्यो प्रश्नको उत्तर दिन मसँग शब्द थिएनन्। आँखाभरि आँसु थियो, तर म ड्युटीमै उभिएको थिएँ।
घरबाट टाढा बस्ने पीडा केवल दूरीको मात्र हुँदैन। बिरामी भएका बाबुआमाको खबर सुन्दा, बच्चा बिरामी भएको थाहा पाउँदा, परिवारलाई कुनै समस्या पर्दा तत्काल घर पुग्न नसक्नु सबैभन्दा ठूलो पीडा हो। मन घरमै हुन्छ, तर शरीर ड्युटीमा हुन्छ।
म जस्ता धेरै प्रहरी कर्मचारी आज पनि घरबाट सयौं किलोमिटर टाढा बसेर सेवा गरिरहेका छन्। कतिपयले वर्षौंसम्म आफ्ना बालबच्चाको हुर्काइ नजिकबाट हेर्न पाएका छैनन्। कतिपयले बाबुआमाको अन्तिम समयमै पनि साथ दिन सकेका छैनन्। यस्ता कथा प्रहरी संगठनभित्र असंख्य छन्, तर बाहिर कमै सुनिन्छन्।
त्यसैले म र म जस्ता धेरै तल्लो दर्जाका प्रहरीको एउटा ठूलो चाहना छ- सम्भव भएसम्म घरपायक दरबन्दी र सरुवा। सबैलाई आफ्नै जिल्ला दिन सकिँदैन होला, त्यो हामीले पनि बुझेका छौँ। तर कम्तीमा आफ्नै प्रदेश वा छिमेकी प्रदेशमा काम गर्ने अवसर मिल्यो भने धेरै राहत हुने थियो।
आफ्नो प्रदेशमा हुँदा कुनै आपत् पर्दा केही घण्टामै घर पुग्न सकिन्छ। वृद्ध बाबुआमाको अवस्था बुझ्न सकिन्छ। छोराछोरीलाई बेला–बेलामा भेट्न सकिन्छ। परिवारसँगको दूरी कम हुँदा मानसिक तनाव पनि कम हुन्छ। काम गर्ने उत्साह र मनोबल पनि बढ्छ भन्ने मलाई लाग्छ।
म बिदा माग्दा जिम्मेवारीबाट भाग्न खोजेको हुँदैन। म पनि अरूजस्तै एउटा मानिस हुँ। मलाई पनि कहिलेकाहीँ घरको आँगन सम्झना आउँछ। आमाको अनुहार हेर्न मन लाग्छ। आफ्ना छोराछोरीसँग केही समय बिताउन मन लाग्छ। परिवारसँग बसेर एकछिन ढुक्कले सास फेर्न मन लाग्छ।
नागरिकले हामीबाट राम्रो सेवा अपेक्षा गर्छन्, त्यो स्वाभाविक हो। तर राम्रो सेवा दिन प्रहरीको मन पनि शान्त हुनुपर्छ। शरीरले मात्र होइन, मनले पनि काम गर्नुपर्छ। थाकेको, तनावमा रहेको र परिवारको चिन्ताले ग्रस्त प्रहरीबाट सधैं उत्कृष्ट सेवा अपेक्षा गर्नु पनि सजिलो कुरा होइन।
म प्रहरी हुँ, आफ्नो जिम्मेवारीबाट कहिल्यै भाग्दिनँ। देश र जनताको सुरक्षाका लागि जस्तोसुकै अवस्थामा पनि खटिन तयार छु। तर यति मात्र चाहन्छु- प्रहरीलाई पनि मानिसका रूपमा हेरियोस्। उसको थकान, उसको परिवार, उसका भावना र उसका आवश्यकता पनि बुझियोस्।
किनभने प्रहरीको बर्दीभित्र पनि एउटा छोरा, एउटा पति, एउटा बुबा र एउटा परिवारको सदस्य लुकेको हुन्छ। र कहिलेकाहीँ मेरो मनले चुपचाप एउटै कुरा दोहोर्याउँछ- ‘घर जान मन लाग्छ, तर ड्युटीले रोक्छ।’
(लेखक नेपाल प्रहरीमा कार्यरत एक प्रहरी जवान हुन्। सुरक्षा तथा पेशागत संवेदनशीलताका कारण उनको नाम गोप्य राखिएको छ।)
