काठमाडौं । नेपाल प्रहरीका पूर्व संगठन प्रमुख मञ्चले चीनतर्फको तिब्बत क्षेत्रमा गएको हिमपहिरो तथा प्राकृतिक विपत्तिका कारण नेपाल–चीन सीमा क्षेत्र र तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
मञ्चका संयोजक तथा पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहोराले विज्ञप्ति जारी गर्दै विपत्तिमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
बाढीपहिरोका कारण अझै ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक बेपत्ता रहेको र उद्धार कार्यमा चुनौती थपिएको भन्दै मञ्चले बेपत्ता भएकाहरूको खोजी, उद्धार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षसँग माग गरेको छ।
सीमावर्ती क्षेत्रमा रहेका अस्थायी तालहरू फुट्ने र जलसतह बढ्ने उच्च जोखिम कायमै रहेकाले नदी तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा रहेका स्थानीयलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न पनि मञ्चले आग्रह गरेको छ।
मञ्चले विपद्को समयमा सरकार, सुरक्षा निकाय तथा सम्बद्ध संस्थाहरूले देखाएको तत्परता र उच्च व्यावसायिकताको प्रशंसा गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सकल दर्जाका सुरक्षाकर्मीहरू एवं सम्बद्ध सबै राष्ट्रसेवकहरूको कडा परिश्रम, उच्च व्यावसायिकता र कर्तव्यपरायणताप्रति हार्दिक सम्मान प्रकट गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ।’
त्यस्तै, विपत्तिको दुःखद घडीमा मञ्चका सदस्यहरूले समेत न्यूनतम १० दिनभन्दा माथिको स्वेच्छिक निवृत्तिभरण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
मञ्चले विपद्को कठिन परिस्थितिमा धैर्य धारण गर्दै उद्धार तथा व्यवस्थापन कार्यमा सहयोग पुर्याउन सम्पूर्ण सरोकारवालालाई आह्वानसमेत गरेको छ।

