काठमाडौं । काठमाडौं उपत्यकाबाट सार्वजनिक सवारी साधन प्रयोग गरी उपत्यका बाहिर जाने यात्रुहरूलाई दुःख र हैरानी दिने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वर र जडीबुटी क्षेत्रमा काउन्टर सञ्चालन गर्ने कर्मचारी, सवारी चालक तथा सहचालकहरूले अनावश्यक दुःख दिने गरेको जनगुनासोका आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।
उक्त स्थानमा पुगेको प्रहरी टोलीले सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुहरूलाई तानेर जबरजस्ती गर्ने र यात्रुको साथमा रहेको झोला खोस्ने जस्ता कार्य गरी दुःख हैरानी दिइरहेको अवस्थामा उनीहरूलाई फेला पारेको थियो। पक्राउ परेका सबैजनालाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा धनुषा छिरेश्वरनाथ नगरपालिका–५ का ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखा भीमेश्वर नगरपालिका–१ का ३२ वर्षीय प्रकाश सिवाकोटी, भक्तपुर चाँगुनारायण नगरपालिका–९ का ५५ वर्षीय हरिभजन थापा, दोलखा वैतेश्वर गाउँपालिका–४ का ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका–५ का २८ वर्षीय सुरेश तामाङ रहेका छन्।
त्यस्तै सिन्धुली गोलञ्जोर गाउँपालिका–२ का २७ वर्षीय तिलककुमार थापा, दोलखा भीमेश्वर नगरपालिका–८ का २६ वर्षीय खड्कबहादुर तामाङ, सिन्धुली सुनकोशी गाउँपालिका–४ का ३६ वर्षीय डोरकुमार श्रेष्ठ, ओखलढुङ्गा लिखु गाउँपालिका–७ का ४५ वर्षीय नन्दलाल बुढाथोकी र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ का ३६ वर्षीय राजेश सापकोटा पनि पक्राउ परेका छन्।
