धादिङ । इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्की बागमती प्रदेश प्रहरी कार्यालयद्वारा २०८३ साल जेठ महिनाको ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ घोषित भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले सार्वजनिक गरेको निर्णयअनुसार डिएसपी कार्कीले आफ्नो जिम्मेवारीलाई व्यावसायिक दक्षता र उच्च कार्यसम्पादनका साथ निर्वाह गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।
प्रदेश प्रहरी कार्यालयका अनुसार डिएसपी कार्कीको नेतृत्वमा इलाका प्रहरी कार्यालय गजुरीले लागूऔषध तथा हातहतियार सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ, अवैध भरुवा बन्दुक बरामद, लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूमाथि कारबाही, अवैध रूपमा ओसारपसार गरिएका चौपाया तथा अन्य मालसामान बरामद लगायतका कार्यमा सफलता हासिल गरेको थियो।
यस्तै, विभिन्न आपराधिक घटनाको सफल अनुसन्धान, विपद् उद्धार, अवैध नदीजन्य पदार्थको नियन्त्रण, समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत जनचेतनामूलक गतिविधि सञ्चालन तथा पृथ्वी राजमार्ग क्षेत्रमा सवारी व्यवस्थापन र शान्ति–सुरक्षा कायम गर्न पुर्याएको योगदानलाई पनि मूल्यांकनमा समेटिएको जनाइएको छ।
प्रहरी संगठनको नीति, निर्देशन र व्यावसायिक मूल्य–मान्यताअनुसार उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै डिएसपी कार्कीलाई बागमती प्रदेशकै उत्कृष्ट प्रहरीको रूपमा घोषणा गरिएको हो।
यो सम्मानले डिएसपी कार्कीको नेतृत्व क्षमता, कर्तव्यनिष्ठा र प्रहरी सेवाप्रतिको समर्पणलाई थप उजागर गरेको छ।
