काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेर प्रहरी हिरासतमा रहेका व्यक्तिलाई हिरासतभित्रै प्रवेश गरी मानसिक दबाब, गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको आरोपमा गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोक पुगेर उजुरी दर्ता गराएका हुन्। उनीहरूले राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै आफूहरूमाथि गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन्।
उजुरीअनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा विवादको विषयमा भारतीय दूतावास अगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि सोह्रखुट्टे लैनचौर प्रहरी वृत्तमा राखिएको करिब आधा घण्टापछि गृहमन्त्री गुरुङको नेतृत्वमा आएको टोली हिरासत कक्षभित्र प्रवेश गरेको आरोप लगाइएको छ।
निवेदकहरूले गृहमन्त्रीसहितको टोलीले हिरासतभित्रै मानसिक दबाब सिर्जना गरेको, गालीगलौज गरेको तथा ज्यान मार्ने धम्की दिएको दाबी गरेका छन्। उनीहरूले कानुनविपरीत थुनुवामाथि आतंक सिर्जना गरिएको आरोपसमेत लगाएका छन्।
उजुरीमा प्रहरी प्रशासनको मिलेमतो वा लाचारीका कारण हिरासतभित्रै यस्तो घटना हुन पुगेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगसँग घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। त्यसका लागि आयोगको विशेष टोलीले पीडितहरूको बयान लिनुका साथै सोह्रखुट्टे प्रहरी वृत्तको सीसीटीभी फुटेज, आगन्तुक अभिलेख तथा सम्बन्धित प्रमाणहरू सुरक्षित राखी अनुसन्धान गर्नुपर्ने माग गरिएको छ।
निवेदकहरूले पद र शक्तिको दुरुपयोग गरी हिरासतभित्र प्रवेश गरेर मानसिक यातना दिएको आरोपमा गृहमन्त्री गुरुङ र संलग्न अन्य व्यक्तिमाथि फौजदारी तथा मानव अधिकार उल्लंघनसम्बन्धी कारबाही गर्न निर्देशन दिनुपर्ने माग गरेका छन्। साथै, अनधिकृत व्यक्तिलाई संवेदनशील हिरासत क्षेत्रमा प्रवेश गराउने प्रहरी कर्मचारीमाथि समेत विभागीय कारबाही गर्नुपर्ने माग उजुरीमा गरिएको छ।
हाल सोह्रखुट्टे लैनचौर वृत्त प्रमुख छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर शाह । केही दिनअघि डिएसपी शाहले परिचालन गरेका क्युआरटी टोलीका सई घुस लिएको आरोपमा निलम्बनमा परेका थिए। डिएसपी शाह आफैले राखेको क्युआरटी घुसकाण्डमा परेपछि उनीमाथि पनि नैतिक प्रश्नचिन्ह खडा भएको छ ।
तर, अहिलेसम्म प्रहरी प्रधान कार्यालय डिएसपी शाहको बारेमा मौन छ ।
यो पनि पढ्नुहोस्…
लैनचौर वृत्तका सई घुस लिएको आरोपमा निलम्बित, डिएसपीमाथि के होला ?
