टोकियो । जापानको साइतामा प्रान्तस्थित कोनोसु सिटीको एक अपार्टमेन्टमा नेपाली महिला मृत फेला परेकी छन्। घटनासम्बन्धी अनुसन्धानका लागि एक नेपाली पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार २१ तारिख बिहान करिब ६ः३० बजे ३० वर्ष आसपासका एक पुरुष कपडामा रगत लागेको अवस्थामा प्रहरी चौकी पुगेका थिए। त्यसपछि प्रहरी उक्त पुरुष बस्ने अपार्टमेन्टमा पुगेको थियो।
प्रहरीले अपार्टमेन्टभित्र करिब ३७ वर्षीया नेपाली महिलालाई टाउकोबाट रगत बगेको अवस्थामा ढलेकी भेटेको जनाएको छ। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको कारण खुल्न बाँकी रहेको र मृतक तथा नियन्त्रणमा रहेका पुरुषबीचको सम्बन्धबारे पनि अनुसन्धान भइरहेको बताइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।
