विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१ मा प्रहरीमाथि चक्कु प्रहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। घटनामा एक प्रहरी सहायक निरीक्षक (असई), एक प्रहरी जवान तथा एक सुधारगृहका कर्मचारी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रामेछाप घर भई हाल विराटनगर–१ अनुकरण मार्गमा डेरा गरी बस्दै आएका २९ वर्षीय रुबिन कार्कीलाई धारिलो हतियार (चक्कु) सहित नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार कार्कीलाई उनका आफन्तले काठमाडौंस्थित एक सुधारगृह पठाउने तयारी गरिरहेका थिए। सोही क्रममा उनी कोठाभित्र गएर आत्महत्याको प्रयास गरिरहेको सूचना प्राप्त भएपछि सीआरभी भृकुटीचोकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
आफन्त र प्रहरीको उपस्थितिमा कार्कीलाई सम्झाउने प्रयास भइरहेका बेला उनले अचानक चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट सीआरभी भृकुटीचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे तथा नेपाल सुधारगृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन्। उनीहरूको टाउकोमा सामान्य चोट लागेको र उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप प्रहरी टोली परिचालन गरी कार्कीलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको थियो। प्रहरीले उनको साथबाट प्रयोग गरिएको चक्कु समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
