सिरहा । सिरहाको सिरहा नगरपालिका–२१ लकडिगोठबाट ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार सिरहाको संयुक्त प्रहरी टोलीले ९२.३ ग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीमाथि ढुंगामुढा गर्दै भारततर्फ भाग्ने प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर र एक राउण्ड गोली प्रहार गरेको जनाएको छ ।
गोली लागेर भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ जोगिया टोल निवासी अन्दाजी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान घाइते भएका छन् । घाइते पासवानको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट भारतको मधुवनी जिल्ला निवासी अन्दाजी १७ वर्षीय रमन कुमार पासवानलाई समेत नियन्त्रणमा लिइएको छ ।
यस्तै घटनाका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरपतारमा कार्यरत प्रहरी जवान हृदय नारायण ठाकुर पनि खुट्टामा चोट लागेर घाइते भएका छन् । उनको पनि उपचार भइरहेको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
