काठमाडौं । लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले भारततर्फ निकासी गर्न लागेको १५ किलो ३४० ग्राम अफिम (चोप) सहित दुई जनालाई पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुबासचन्द्र बोहोराको नेतृत्वमा ब्युरोले लागू औषधको अवैध ओसारपसार नियन्त्रण अभियानलाई तीव्र बनाएको छ ।
ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले नेपालको पहाडी जिल्लाबाट अवैध रूपमा उत्पादन गरिएको लागू औषध अफिम (चोप) खरिद संकलन गरी बिक्रीका लागि भारततर्फ लैजान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–३ बाट दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–४ का ३० वर्षीय सन्ध्या धर्ती मगर र बाँसगढी नगरपालिका–३ का ४२ वर्षीय मिना रोकाया रहेका छन् ।
उनीहरूको साथबाट लागू औषध अफिम (चोप) १५ किलो ३४० ग्राम, मोबाइल फोन २ थान र नेपाली नगद ३४ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोतीपुर, बाँसगढी बर्दियामा बुझाइएको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ ।
