धनगढी । धनगढीस्थित साथी होटलमा सञ्चालित किङ्ग्स लाउञ्ज क्यासिनोमाथि एक व्यक्तिलाई बन्धक बनाएर करिब २० लाख रुपैयाँ असुल गरेको आरोप लागेको छ। पीडित पक्षले क्यासिनोभित्र मदिरा सेवन गराई विभिन्न खेल खेल्न लगाएर ठूलो रकम गुमाउन बाध्य बनाइएको दाबी गरेको छ।
आकाश भण्डारीले आफ्ना मामाको छोरा बलबहादुर रावत क्यासिनोका कर्मचारीहरूको सम्पर्कमा पुगेपछि तीन दिनसम्म क्यासिनो परिसरमा राखिएको र सो अवधिमा उनको साथमा रहेको करिब २० लाख रुपैयाँ गुमेको बताए।
भण्डारीका अनुसार जापानबाट हालै नेपाल फर्किएका रावतलाई क्यासिनोका कर्मचारीले डान्स बारमा लैजाने बहानामा भित्र प्रवेश गराएका थिए। त्यसपछि मदिरा सेवन गराई विभिन्न गेम खेल्न लगाइएको र अन्ततः ठूलो रकम गुमाउन पुगेको उनको दाबी छ।
‘उहाँसँग भएको रकम देखेपछि क्यासिनोभित्र लगियो। मदिरा खुवाएर गेम खेलाइयो र लाखौं रुपैयाँ गुमाइयो,’ भण्डारीले भने। उनका अनुसार रावतको स्वास्थ्य अवस्था समेत बिग्रिएपछि उनलाई कोहलपुरस्थित अस्पतालमा भर्ना गरिएको छ।
यद्यपि, रावत वास्तवमै बन्धक बनाइएका थिए वा थिएनन् तथा रकम लुटपाट भएको दाबी सत्य हो वा होइन भन्ने विषय स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
भण्डारीले घटनाबारे प्रहरीलाई जानकारी गराइसकेको बताए पनि जिल्ला प्रहरी कार्यालय कैलालीले भने यस सम्बन्धमा औपचारिक उजुरी वा जानकारी प्राप्त नभएको जनाएको छ।
उता, किङ्ग्स लाउञ्ज क्यासिनोका प्रतिनिधि श्याम कुँवरले आफूमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन्। उनका अनुसार सम्बन्धित व्यक्तिलाई विदेशी परिचयपत्रका आधारमा क्यासिनो प्रवेश दिइएको थियो। पछि उनी नेपाली नागरिक रहेको खुलेपछि क्यासिनोबाट बाहिर निकालिएको उनले बताए।
कुँवरका अनुसार क्यासिनोबाट बाहिरिएपछि पुनः प्रवेशको आग्रह गरिए पनि अनुमति नदिइएको र त्यसकै कारण आधारहीन आरोप लगाइएको हुन सक्ने उनको भनाइ छ।
घटनाबारे थप सत्यतथ्य खुल्न सम्बन्धित निकायको अनुसन्धान र आधिकारिक निष्कर्ष पर्खनुपर्ने देखिएको छ।
