काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा आर्थिक अनियमितता भएको आशंकापछि सशस्त्र प्रहरी बल, नेपालले आन्तरिक छानबिन सुरु गरेको छ।
विद्यालयको बैंक खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखिएको तथा त्यसको दुरुपयोग भएको भन्ने उजुरी सशस्त्र प्रहरी प्रधान कार्यालयमा परेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।
एपीएफ स्कुलको लेखा शाखामा कार्यरत इन्स्पेक्टर कल्पना गुरुङमाथि विद्यालयको रकम व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ। उजुरीमा विद्यालयको रकम व्यक्तिगत खातामार्फत कारोबार गरिएको दाबी गरिएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले विद्यालयसँग सम्बन्धित आर्थिक विषयमा कानुन निर्देशनालयमार्फत आन्तरिक छानबिन भइरहेको जानकारी दिएका छन्।
स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा विद्यालयको रकम असम्बन्धित व्यक्ति तथा संस्थाका खातामा समेत गएको देखिएको छ। त्यसैलाई आधार बनाएर प्रधान कार्यालयले पछिल्ला चार आर्थिक वर्षको बैंकिङ कारोबार विवरण माग गरी थप अध्ययन थालेको बताइएको छ।
इन्स्पेक्टर गुरुङ सशस्त्र प्रहरी नायव निरीक्षक (सई) हुँदादेखि नै विद्यालयको लेखा शाखामा कार्यरत रहेको र बढुवापछि पनि सोही जिम्मेवारीमा रहेकी छन्। उक्त प्रकरणमा केही अन्य अधिकृतहरूको समेत संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको स्रोतको भनाइ छ।
यसैबीच, कल्याण महाशाखामा कार्यरत लेखापाल डीएसपी महेन्द्र हमाल पनि छानबिनको दायरामा परेका छन्। विद्यालय कल्याण बजेटबाट सञ्चालन हुँदै आएको र अनियमितताबारे जानकारी हुँदाहुँदै सम्बन्धित निकायलाई समयमै अवगत नगराएको आरोप उनीमाथि लागेको छ।
उल्लेखनीय रूपमा, २०८२ साल मङ्सिर महिनामा पनि विद्यालयको रासन व्यवस्थापनमा अनियमितता भएको आरोपसहित विभिन्न निकायमा उजुरी परेको थियो। हालको छानबिनले ती विषयहरूलाई समेत समेट्न सक्ने बताइएको छ।
यद्यपि, छानबिन प्रक्रिया जारी रहेकाले आरोपित पक्षको जिम्मेवारी र संलग्नताबारे अन्तिम निष्कर्ष आउन बाँकी रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
