काठमाडौं । खोज पत्रकारितामार्फत सामाजिक न्याय, सुशासन र नागरिक सचेतनाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार जीवन शर्मालाई ‘खोज पत्रकारिता सम्मान-२०८३’ प्रदान गरिएको छ।
कोरिया शैक्षिक परामर्श संघ नेपाल (केकान) ले ओझेलमा परेका यथार्थ, उत्पीडित समुदायका पीडा तथा सीमान्तकृत नागरिकका आवाजलाई तथ्य र प्रमाणका आधारमा निर्भीकतापूर्वक उजागर गर्दै आएको योगदानको कदरस्वरूप शर्मालाई उक्त सम्मान प्रदान गरेको हो।
संस्थाका अनुसार शर्माको वैचारिक स्पष्टता, व्यावसायिक निष्ठा तथा सार्वजनिक उत्तरदायित्वप्रतिको समर्पण सम्मानको मुख्य आधार बनेको छ।
गोरखा जिल्लाको साविक दहरबुङ्गा गाविस–६ (हाल गण्डकी गाउँपालिका–५) मा वि.सं. २०४० साल कार्तिक १५ गते जन्मिएका शर्माले संघर्षपूर्ण जीवनयात्राबाट पत्रकारितामा आफ्नो पहिचान स्थापित गरेका हुन्। वि.सं. २०६१ वैशाख १४ गते पत्रकारिता तालिम लिएपछि उनले पोखरा एफएम ९५.८ मेगाहर्जबाट प्रसारित ‘लोक सुसेली’ र ‘पल प्रति पल’ कार्यक्रममार्फत सञ्चार क्षेत्रमा प्रवेश गरेका थिए।
रेडियो, छापा तथा अनलाइन माध्यममार्फत लामो समयदेखि सक्रिय रहेका शर्माले खोजमूलक पत्रकारितामा विशेष योगदान पुर्याउँदै आएका छन्। उनले विभिन्न सञ्चारमाध्यममार्फत अनुसन्धानमूलक समाचार, विशेष रिपोर्ट तथा जनसरोकारसँग सम्बन्धित विषयमा निरन्तर कलम चलाएका छन्।
सीमावर्ती क्षेत्रका अनियमितता, वन पैदावार तस्करी, सार्वजनिक सम्पत्तिको दुरुपयोग, भ्रष्टाचार, प्रशासनिक विकृति तथा अवैध कारोबारजस्ता विषयमा उनले तयार पारेका समाचार सामग्रीले सम्बन्धित निकायलाई जवाफदेही बन्न दबाब सिर्जना गर्नुका साथै समाजमा सकारात्मक बहसको वातावरण निर्माण गरेको बताइएको छ।
हाल ‘स्थानीय सरोकार’ पत्रिका तथा ‘निगरानी दैनिक डटकम’ सञ्चालन गरिरहेका शर्माले सत्य, तथ्य र प्रमाणमा आधारित पत्रकारितामार्फत सुशासन, लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।
