रौतहट । रौतहटको पश्चिमी क्षेत्रमा बग्ने लालबकैया नदी अवैध उत्खननको चपेटामा परेको छ। कानुनी रूपमा टेण्डर प्रक्रिया पूरा नभएको अवस्थामा समेत नदीबाट ढुंगा, गिटी र बालुवा खुलेआम उत्खनन तथा ढुवानी भइरहेको स्थानीयवासीले आरोप लगाएका छन्।
स्थानीयका अनुसार प्रहरी, केही जनप्रतिनिधि र उत्खननमा संलग्न समूहबीचको कथित ‘सेटिङ’का कारण नदी दोहन रोक्न नसकिएको हो।
समाजसेवी शिवपुजन यादवका अनुसार गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका क्षेत्रअन्तर्गत जंगलसहिया, सिमरी, राँगी र बोटावा घाटबाट बिहानदेखि रातिसम्म नदीजन्य पदार्थ निकाल्ने काम भइरहेको छ। कानुनले टेण्डरबिनाको उत्खनन निषेध गरे पनि व्यवहारमा त्यसको पालना नभएको उनको भनाइ छ।
यादवले इलाका प्रहरी कार्यालय विजयपुर, सशस्त्र प्रहरी बेस क्याम्प विजयपुर, प्रहरी चौकी हरिनगर जंगलसैया तथा अस्थायी बेस क्याम्प पोखरभिन्डामा मासिक रकम बुझाएर ट्र्याक्टर तथा टिपर सञ्चालन भइरहेको दाबी गरेका छन्। उनका अनुसार नदीजन्य पदार्थ बोकेका सवारीसाधन दैनिक सयौंको संख्यामा विभिन्न स्थानीय तहमा पुगिरहेका छन्।
आर्थिक वर्षको अन्तिम चरणमा विकास निर्माणका काम बढ्ने भएकाले गिटी–बालुवाको माग उच्च भएको छ। यही अवसरको फाइदा उठाउँदै फतुवा विजयपुर, मौलापुर, गुजरा, कटहरियालगायत क्षेत्रमा नदीजन्य पदार्थको व्यापक ढुवानी भइरहेको स्थानीयको भनाइ छ।
अवैध उत्खनन रोक्न स्थानीय तह, जिल्ला प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा तथा प्रधानमन्त्री कार्यालयसम्म उजुरी दिइए पनि प्रभावकारी कदम नचालिएको यादवको गुनासो छ।
फतुवा विजयपुर नगरपालिकामा नदी ठेक्का सम्बन्धी भ्रष्टाचार मुद्दापछि टेण्डर प्रक्रिया प्रभावित बनेको छ। तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहरिएपछि नयाँ प्रक्रिया अघि बढ्न नसकेको बताइन्छ। कार्यवाहक मेयर अम्बेया खातुनको नेतृत्वमा हालसम्म ठेक्का प्रक्रिया अगाडि नबढेको स्थानीयको आरोप छ। गुजरा नगरपालिकामा पनि पछिल्ला दुई वर्षदेखि टेण्डर नखुलेको बताइएको छ।
स्थानीयवासीका अनुसार केही जनप्रतिनिधि आफैं उत्खननमा संलग्न छन् भने केहीले आर्थिक लाभका कारण मौन समर्थन गरिरहेका छन्।
कटहरिया–१ भसेढवाका स्थानीय मैनुदिन अन्सारीले प्रहरीलाई रकम बुझाएकै कारण नदीजन्य पदार्थ बोकेका ट्र्याक्टरहरू प्रहरी कार्यालय अगाडिबाटै निर्वाध रूपमा आवतजावत गरिरहेको आरोप लगाए।
नदी अनुगमन तथा नियन्त्रणको जिम्मेवारी पाएको जिल्ला समन्वय समिति पनि निष्क्रिय बनेको आरोप लागेको छ। समितिका सभापति राम अयोध्या यादवले भने आरोप अस्वीकार गर्दै समय–समयमा अनुगमन भइरहेको दाबी गरेका छन्।
ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ (संशोधित) अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाइन्छ। मनसुनका बेला नदी कटान, वातावरणीय क्षति र जोखिम नियन्त्रणका लागि यस्तो व्यवस्था गरिएको हो।
तर असार ७ गतेसम्म पनि लालबकैया नदीबाट उत्खनन र ढुवानी नरोकिएको स्थानीयको दाबी छ।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र यादवले भने आरोप अस्वीकार गर्दै दुई पटक अवैध उत्खननमा प्रयोग भएका ट्र्याक्टर नियन्त्रणमा लिएर कारबाही गरिएको बताए। ‘दिनभरि नदीमै बसेर निगरानी गर्न सम्भव हुँदैन, प्रहरीका अन्य जिम्मेवारी पनि छन्,’ उनले भने।
सशस्त्र प्रहरी बेस क्याम्प विजयपुरका प्रमुख प्रहरी निरीक्षक काजिराम श्रेष्ठसँग भने सम्पर्क हुन सकेन।
स्थानीयवासीले राज्यको राजस्व र प्राकृतिक स्रोत–साधनको संरक्षणका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।
