धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
कमान्ड सम्हालेको तीन दिनपछि शनिबार धनगढीमा आयोजित नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको साधारण सभालाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा कायम गर्न सञ्चार क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहने बताए। उनले पत्रकारिता क्षेत्रबाट जिम्मेवार र सकारात्मक सहकार्यको अपेक्षा रहेको उल्लेख गरे।
डीआईजी भट्टराईले प्रहरी अधिकृतहरू सीमित अवधिका लागि प्रदेशमा खटिने भएकाले सबै सरोकारवालासँग समन्वय गरेर प्रभावकारी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए।
उनले प्रहरी संगठनभित्र केही नकारात्मक प्रवृत्ति र खराब आचरण भएका व्यक्तिहरू हुन सक्ने स्वीकार गर्दै त्यस्ता गतिविधिलाई नियन्त्रण र सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उनले महिला तथा बालबालिकासम्बन्धी संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा विशेष सावधानी अपनाउन सञ्चारकर्मी तथा युट्युबरहरूलाई आग्रह गरे। यस्ता घटनामा पीडितको पहिचान खुल्ने सामग्री सार्वजनिक हुँदा थप मानसिक असर पर्न सक्ने भएकाले जिम्मेवार ढंगले सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ थियो।
