चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन चितवनमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ। जिल्ला सुरक्षा समितिले चारवटै सुरक्षा निकायको समन्वयमा विशेष सुरक्षा योजना तयार गरेको जनाएको छ।
जिल्ला सुरक्षा समितिका प्रमुख तथा गणेश अर्यालका अनुसार महाधिवेशनमा सहभागी हुने शीर्ष नेतादेखि प्रतिनिधि र सर्वसाधारणसम्मको सुरक्षालाई ध्यानमा राखेर विस्तृत सुरक्षा रणनीति बनाइएको हो। सुरक्षा व्यवस्थामा नेपाल प्रहरीसहित सबै सुरक्षा निकाय परिचालन गरिने भए पनि पहिलो घेराको जिम्मेवारी नेपाल प्रहरीले सम्हाल्नेछ।
भोलिदेखि सुरु हुने तीनदिने महाधिवेशनका लागि १ हजार ८७ जना नेपाल प्रहरी परिचालन गरिने भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले उद्घाटन सत्र र बन्दसत्रका लागि छुट्टाछुट्टै सुरक्षा योजना तयार गरिएको जानकारी दिए।
महाधिवेशन अवधिभर ठूलो संख्यामा प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहने अनुमान गरिएकाले सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ। ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन १६५ जना ट्राफिक प्रहरी पनि खटाइने भएका छन्।
सवारी व्यवस्थापन सहज बनाउन भरतपुरस्थित बीरेन्द्र क्याम्पस पछाडिको चौर र केन्द्रीय बसपार्कलाई ठूला सवारीसाधन पार्किङ स्थलका रूपमा तोकिएको छ।
रास्वपाका अनुसार बन्दसत्रमा करिब ३ हजार ५०० देखि ४ हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ भने उद्घाटन सत्रमा करिब ४० हजार सर्वसाधारणको उपस्थिति रहने अनुमान गरिएको छ। महाधिवेशनलाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा निकायले आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ।
