धनगढी । सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले सरुवा भइसकेपछि गरेका ४ सय ४४ जना प्रहरी कर्मचारीको काज सरुवा बदर भएको छ।
प्रहरी प्रधान कार्यालयको निर्देशनपछि नयाँ प्रदेश प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराईले उक्त निर्णय कार्यान्वयन नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएका हुन्।
डीआईजी राना सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखबाट सरुवा भएपछि जवानदेखि वरिष्ठ सईसम्मका ४४४ जना प्रहरी कर्मचारीको काज सरुवा गरेका थिए। उक्त सरुवा प्रक्रिया अस्वभाविक भएको भन्दै प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले निर्णय रोक्न निर्देशन दिएको हो।
प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले समाचारमा उल्लेख भएजस्तै अस्वभाविक काज सरुवा गरिएको पाइएकाले प्रदेश प्रहरी कार्यालयलाई निर्णय कार्यान्वयन नगर्न भनिएको बताए।
उनका अनुसार डीआईजी रानाले गरेको काज सरुवाको प्रक्रिया र कारणबारे आन्तरिक रूपमा छानबिनसमेत गरिनेछ।
यता, सुदुरपश्चिम प्रहरी प्रमुख डीआईजी भट्टराईले २९ जेठपछि गरिएका काज सरुवामा परेका प्रहरी कर्मचारीलाई रमाना नदिन मौखिक निर्देशन दिइसकेको र लिखित सर्कुलर पनि जारी गर्ने बताएका छन्।
रानामाथि प्रहरीभित्र विचौलियामार्फत आर्थिक चलखेल गरी सरुवा गरेको आरोप लाग्दै आएको थियो। प्रहरीले भने आरोपबारे आन्तरिक अध्ययनपछि थप प्रक्रिया अघि बढाउने जनाएको छ।
