रौतहट । करिब दुई दशकभन्दा बढी समयदेखि फरार रहेका हत्या आरोपी श्यामबाबु चौरसिया अन्ततः कानुनी दायरामा आएका छन्। बारा जिल्लाको साविक मोतिसर गाविस–९ हाल कलैया उपमहानगरपालिका–१८ निवासी ४८ वर्षीय चौरसियालाई जिल्ला अदालत बाराले पुर्पक्षका लागि कारागार चलान गरेको हो।
बारा प्रहरीका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार २१ वर्षअघि भएको हत्या घटनामा संलग्न रहेको आरोप लागेका चौरसियालाई गत जेठ १३ गते पक्राउ गरिएको थियो। अनुसन्धान पूरा गरी शुक्रबार अदालतमा पेश गरिएकामा अदालतले मुद्दाको थप प्रक्रिया अघि बढाउँदै उनलाई थुनामा राख्ने आदेश दिएको हो।
प्रहरीका अनुसार २०६२ साल असोज ३ गते बिहान वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ड्युटी सकेर घर फर्किरहेका सितल प्रसाद चौरसियाको प्रसौनी गाउँपालिका–१ स्थित दुधौरा खोलाको बगरमा धारिलो हतियार प्रयोग गरी घाँटी काटेर हत्या गरिएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा जग्गासम्बन्धी पुरानो विवाद र आपसी रिसिइबीका कारण उक्त हत्या भएको प्रहरीको भनाइ छ। घटनापछि फरार रहेका चौरसिया लामो समयसम्म प्रहरीको पहुँचभन्दा बाहिर रहे पनि निरन्तर अनुसन्धानका क्रममा पक्राउ परेका हुन्।
२१ वर्षपछि पनि कानुनको पहुँचबाट उम्किन नसक्ने सन्देश
लामो समयपछि भए पनि हत्या आरोपित पक्राउ पर्नु र अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइनुले गम्भीर अपराधका घटनामा कानुनी प्रक्रिया कहिल्यै समाप्त नहुने सन्देश दिएको छ।
पुराना मुद्दाको अनुसन्धानलाई निरन्तरता दिँदा वर्षौंसम्म फरार रहेका अभियुक्तहरू समेत कानुनी कठघरामा आउन सक्ने देखिएको छ। यस घटनाले पीडित परिवारमा न्यायको आशा थप बलियो बनाएको छ।
